Ads Top

भुक्तानी सन्तुलन र शोधनान्तर स्थिति (Balance of Payments and Balance of Payments Status)

भुक्तानी सन्तुलन भनेको कुनै पनि एक देशले विश्वका अन्य देशकसँग गरेको मौद्रिक कारोबारको स्थितिलाई बुझाउँछ । मानाैं, नेपालका व्यक्तिगत नागरिक, उद्योगी व्यवसायी वा सरकारले ऋण तथा अनुदानका माध्यमबाट विश्वका अन्य मुलुकसँग १ अर्ब रुपैयाँबराबरको मौद्रिक कारोबार गर्‍यो । तर, विश्वका अन्य मुलुकका नागरिक, उद्योगी व्यवसायी वा सरकारले नेपालसँग कुल १ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार गर्‍यो । यस्तो कारोबारबीचको अन्तरलाई भुक्तानी सन्तुलन भनिन् । यहाँ नेपालका लागि ५० करोड रुपैयाँको भुक्तानी सन्तुलनमा नकारात्मक देखिन्छ । 


भुक्तानी सन्तुलन र शोधनान्तर स्थिति एकै


भुक्तानी सन्तुलनलाई अर्को भाषामा शोधनान्तर स्थिति पनि भनिन्छ । नेपालको हालको शोधनान्तर स्थित रु.१०१ अर्ब ९ करोडले बचतमा छ । नेपालजस्तो गरिब मुलुकमा भुक्तानी सन्तुलन प्रायः नकारात्मक हुन्छ । अमेरिका तथा चीनजस्ता बृहत् निर्यात गर्ने मुलुकको भने सामान्यतया भुक्तानी सन्तुलन सकारात्मक नै हुन्छ । भुक्तानी सन्तुलनले मुलुकको मौद्रिक स्थितिको बचत तथा घाटाबारे संकेत गर्छ । जब मुलुकको निर्यात आयातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थामा भुक्तानी सन्तुलन बचत (सकारात्मक) हुन्छ ।


किन भुक्तानी सन्तुलनको गणना आवश्यक ?


भुक्तानी सन्तुलनले देशको वित्तीय तथा आर्थिक अवस्थाको चित्रण गर्छ । 

भुक्तानी सन्तुलनले आफ्नो देशको मुद्राको स्थिति (मुद्राको मूल्य दरिलो बन्दै छ वा ह्रास हुँदै छ भन्नेबारे)को चित्रण गर्छ । भुक्तानी सन्तुलनले सरकारलाई वित्तीय तथा व्यापारिक नीति निर्धारण गर्न सहयोग गर्छ । 


यसको गणनामा के–के पर्छन् ?


भुक्तानी सन्तुलनको गणनामा मुख्य त तीन तत्व समावेश हुन्छन् । पहिलो, चालू खाता, पुँजीगत खाता र वित्तीय खाता । 


चालू खाता 


यसमा मुख्यतया आफ्नो देश र अन्य देशबीच भएको वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् । 


पुँजीगत खाता 


यसमा दुई वा अन्य देशबीच सम्पत्ति खरिद–बिक्री सम्बन्ध (जस्तो, जग्गा तथा भौतिक सम्पत्ति पनि पर्छन्)मा भएको कारोबारको तथ्यांक राखिन्छ । पुँजीगत खातामा ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसमेत समावेश हुन्छन् । 


वित्तीय खाता 


यसमा विदेशी लगानी, रियलस्टेटमा भएको लगानी र ठूला–ठूला परियोजनामा गरिएको लगानीको तथ्यांक राखिन्छ । यसले विशेष गरेर घरेलु सम्पत्तिमा विदेशीको स्वामित्व र विदेशी सम्पत्तिमा घरेलुको स्वामित्वको मापन गर्छ । 



भुक्तानी सन्तुलन र व्यापार घाटा एकै होइन  


व्यापार घाटा मुख्य गरी व्यापारसँग मात्र सम्बन्धित हुन्छ । यसले आफ्नो देश र विश्वका अन्य देशसँग गरेको आयात–निर्यातको तथ्यांक मात्र विश्लेषण गर्छ । व्यापार घाटा चालू खातासँग सम्बन्धित हुन्छ । भुक्तानी सन्तुलनजस्तो अन्य पुँजीगत खाता र वित्तीय खातसँग सम्बन्धित हुँदैन ।

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.