Ads Top

Different Index Measured by Nepal Rastra Bank (नेपाल राष्ट्र बैंक द्वारा मापन गरिएका बिभिन्न सूचकाङ्कहरु )

**तलब तथा ज्यालादर सूचकाङ्क के हो ?


तलब तथा ज्यालादर सूचकाङ्कले तलब तथा ज्यालादरको सामान्य मूल्य स्तरलाई मापन गर्दछ । नेपाल राष्ट्र बैंकले २०६१/६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ । छ क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत अधिकृत र गैर-अधिकृत कर्मचारीहरूको तलब विवरणका आधारमा तलव उप-सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण संकलन गरी ज्यालादर उप-सूचकाङ्क तयार गरिन्छ । यी उप-सूचकाङ्कहरूको भार क्रमशः २६.९७ प्रतिशत र ७३.०३ प्रतिशत रहेको छ।


**थोक मूल्य सूचकाङ्क के हो? 


थोक मूल्य सूचकाङ्कले वस्तुहरूको थोक मूल्यस्तरलाई मापन गर्दछ । हाल नेपालले आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्षमानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरेको छ । यी वस्तुहरूमध्ये प्राथमिक समूह अर्न्तर्गत २ उपसमूह, इन्धन तथा ऊर्जा समूह अन्तर्गत २ उपसमूह र उत्पादन समूह अन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको छ ।


**नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि (दर) बीच किन समानता पाइदैन ?


नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूची तोकिएका वस्तु डालोमा (basket) संलग्न वस्तुहरूको भारित मूल्य सूचकाङ्कमा (weighted price index) आधारित हुन्छ । यस्ता वस्तुहरूलाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिन्छ । कुनै वस्तुको मूल्य धेरैले वृद्धि भएतापनि अर्को वस्तुको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु खरीदगर्न जाँदा आफूले खरीद गर्ने वस्तुको मात्र धेरैले मूल्य वृद्धि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि (दर) बीच समानता नहुन सक्दछ ।


**उपभोक्ता मूल्य सूचकाङ्क भनेको के हो? 


उपभोक्ता मूल्य सूचकाङ्कले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्दछ । उपभोक्ता मुद्रास्फीति मापन गर्न हाल उपभोक्ता डालो (consumer basket)मा ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन् । ६० बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ । आर्थिक वर्ष २०७१/७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ । यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अर्न्तर्गत १३ उपसमूह र गैर-खाद्य तथा सेवा समूह अर्न्तर्गत ९ उपसमूह रहेका छन् । उक्त समूहहरूको भाराङ्क (weightage) क्रमशः ४३.९१ प्रतिशत र ५६.०९ प्रतिशत रहेको छ ।


**निर्यात-आयात मूल्य सूचकाङ्क भनेको के हो ?


निश्चित समयावधिमा निर्यात र आयात गरिएका वस्तुहरूको इकाई मूल्यलाई निर्यात र आयात मूल्य सूचकाङ्कले मापन गर्दछ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपातलाई व्यापारको शर्त (Terms of Trade) पनि भनिन्छ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपात बढेमा निर्यात गर्ने मुलुकका लागि अन्तराष्ट्रिय व्यापारको शर्त अनुकूल भएको मानिन्छ । नेपाल राष्ट्र बैंकले निर्यात आयात मूल्य सूचकाङ्क मासिक रुपमा प्रकाशन गर्दै आएको छ ।

Terms of trade (TOT) represent the ratio between a country's export prices and its import prices. How many units of exports are required to purchase a single unit of imports? The ratio is calculated by dividing the price of the exports by the price of the imports and multiplying the result by 100.

Source: Nepal Rastra Bank (NRB)


No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.