Ads Top

साझेदारी विकासको परिचय, विशेषताहरू र विकासमा साझेदारीका विभिन्न मोडलहरू

साझेदारी विकासको परिचय


विकास प्रक्रियामा विकासका लम्बीय साझेदार (Vertical Partners), क्षितिजीय साझेदार (Horizontal Partners) र विश्वव्यापी साझेदार (Cross Border Partners) हरूबीच लगानीमा, लाभको उपभोगमा र जोखिम बहनमा दीर्घकालीन जिम्मेवारी बाँडफाँड गर्ने पद्धति नै साझेदारी विकास हो । लगानीमा सरकारी, निजी क्षेत्र, जनता र विकासका विश्वव्यापी साझेदारहरूसँगको साझेदारीले पुँजी प्रविधि ज्ञान सीप र अनुभवको अभावलाई पूर्ति गर्छ ।

नाफामूलक पूर्वाधार निर्माणमा निजी क्षेत्रले बढी योगदान गर्छन् भने गैरनाफामूलक सामाजिक सांस्कृतिकलगायत विकास कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, समुदायमा आधारित संगठन र नागरिक समाजले साझेदारी गर्छन् । आतंकवाद एवं विश्वव्यापी संगठित अपराध नियन्त्रण, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि भने विश्वभरि नै साझेदारी आवश्यक पर्छ ।

साझेदारी विकासका विशेषता

  • साझेदारी विकासले विकासको बहुआयामिक विषय र बहुपक्षीय साझेदारीको आवश्यकता दर्शाउँछ ।
  • यो दिगो विकासका लागि बहुपक्षीय सहयोग, समन्वय, सहकार्य, सहलाभ र सहजिम्मेवारीको विषय हो ।
  • यसले विकासका लम्बीय, क्षितिजीय र विदेशी साझेदारहरूबीच सन्तुलन ल्याउँछ ।
  • सबै क्षेत्रमा रहेको ज्ञान, सीप, क्षमता, अनुभव र पुँजीको परिचालन गरी अत्यधिक लाभ दिलाउँछ ।
  • यो दक्षता र क्षमताको संयोजन पनि हो ।
  • विकास कार्यमा अन्तरनिर्भता र पारस्परिकता अभिवृद्धिको माध्यम हो ।
  • विकास प्रक्रियामा सिक्ने, सिकाउने र सुधार गर्ने सामूहिक र निरन्तर प्रयास हो ।
  • दीर्घकालीन रूपमा जिम्मेवारीको बाँडफाँड गर्छ ।
  • विश्वास र सम्मानमा आधारित हुन्छ ।
  • संयुक्त रूपमा निर्णय निर्माण गरिन्छ ।
  • शक्ति सन्तुलन कायम गर्छ ।
  • समता, पारस्परिकता र दायित्व निर्वाहमा टिकेको हुन्छ ।

साझेदारी विकासको मोडल
साझेदारी विकासका विभिन्न मोडलहरू प्रचलनमा छन् । ppp, pppp सर्वाधिक लोकप्रिय मोडलका रूपमा रहेको पाइन्छ । केही प्रमुख मोडलहरू तल दिइएको छ ।

  • व्यवस्थापन करार (Management Contract): सरकारले आफ्नो दायित्वको कुनै काम निश्चित रकम भुक्तानी गर्ने गरी निजी क्षेत्रसँग करार गरेर निजी क्षेत्रबाट नै गराउने प्रक्रिया हो । यस्तो साझेदारी आयोजनाको व्यवस्थापन पूर्ण वा आंशिक रूपमा निजी क्षेत्रको नियन्त्रण रहन्छ ।
  • सेवा करार (service contract) :  सरकारले निजी क्षेत्रबाट प्रभावकारी रूपमा प्रवाह हुन सक्ने आफ्नो दायित्वभित्रको कुनै सेवा निजी क्षेत्रको संगठन वा व्यक्तिलाई निश्चित सेवा शुल्क उठाउन पाउने गरी करार गरेर दिने कार्य हो ।
  • निर्माण तथा हस्तान्तरण (Build and Transfer) :  राज्यबाहेकका क्षेत्रले स्थापना तथा सञ्चालन गर्दा प्रभावकारी हुने पूर्वाधार वा अन्य संरचनाको निर्माण र निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्ने गरी गरिएको करार हो यो ।
  • यस्तो साझेदारीमा निजी क्षेत्रले पूर्ण वा आंशिक लगानी गर्न सक्छ र सर्तको अवधिपछि सम्पूर्ण ज्ञान सम्पत्ति र संरचना राज्यलाई हस्तान्तरण गर्छ ।
  • निर्माण, सञ्चालन तथा हस्तान्तरण (Build Operate and transfer) : यस्तो करार अनुसार निजी क्षेत्रले निर्माण गर्नुका साथसाथै निश्चित समयसम्म सञ्चालन गरी मुनाफा आर्जन गर्नसमेत पाउँछन् । अवधिपछि भने सबै स्वामित्व सरकारलाई हस्तान्तरण गर्नुपर्छ । राज्यका लगानी अभावका कारण वा सहजताका लागि यो तरिका अपनाइन्छ ।
  • निर्माण, हस्तान्तरण र सञ्चालन (Build transfer and operate):  निजी क्षेत्रले बनाउनेबित्तिकै राज्यलाई सुम्पनुपर्ने तर लगानी उठाउन निश्चित समयसम्म मुनाफा आर्जन गर्न र सञ्चालन गर्न भने पाउने गरी गरिने करार हो, यो ।
  • विकास, सञ्चालन तथा हस्तान्तरण (Develop operate and transfer) : सरकारको स्वामित्वको कुनै संरचना वा पूर्वाधारलाई निजी क्षेत्रले मर्मत सुधार थप पुँजी लगानी आधुनिकीकरण आदि गरी विकसित र बहुउपयोगी बनाई सञ्चालन गर्ने र लगानीबराबरको मुनाफा आर्जन भएपछि सरकारलाई हस्तान्तरण गर्ने गरी गरिने करार हो ।
  • पट्टा, निर्माण, सञ्चालन तथा हस्तान्तरण (Lease build operate transfer) सरकारी सम्पति (जग्गा वा प्राकृतिक स्रोत) निजी क्षेत्रले निश्चित समयका लागि भाडामा लिने, उक्त स्थानमा आफ्नै लगानीमा पूर्वाधार तथा संरचना निर्माण गर्ने, आफैँले सञ्चालन गरी मुनाफा आर्जन गर्ने र त्यसपछि पुनः सम्पूर्ण स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्ने करारलाई LBOT भनिन्छ ।
  • निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण (Build own operate transfer) : निजी क्षेत्रले आफ्नै लगानीमा पूर्वाधार तथा उद्योग बनाउने, सबै स्वामित्व आफैँले लिने, सञ्चालन गरी मुनाफा आर्जन गर्ने र लगानी उठेपछि सबै स्वामित्वसमेत सरकारलाई हस्तान्तरण गर्ने करार नै BOOT हो ।
  • PPP : सार्वजनिक क्षेत्र वा सरकार तथा निजी क्षेत्रका बीचमा गरिने साझेदारीलाई PPP भनिन्छ । यो सर्वाधिक सफल द्विपक्षीय साझेदारीको मोडल हो ।
  • PPPP : सरकार, निजी क्षेत्र र समुदाय अर्थात् जनताहरू समेतको साझेदारीलाई एएएए मोडल भनिन्छ । नेपालमा माथिल्लो तामाकोसी, चिलिमेलगायत जलविद्युत् परियोजनामा यस मोडलको प्रयोग भइरहेको छ ।

निष्कर्ष
विकासमा सबै पक्षको, खासगरी सार्वजनिक क्षेत्रको वैधानिक शक्ति र निजी क्षेत्रको नाफामूलक व्यवस्थापन सीपको उपयोग गरी विकासलाई प्रभावकारी, नतिजामुखी र दिगो बनाउने प्रयास नै साझेदारी विकास हो । अभ्यास गर्ने क्रममा साझेदारीका विभिन्न मोडलहरूको विकास हुँदै गएको पाइन्छ । आफ्नो देश र समाजको मौलिकता, अनुकूलता एवं आवश्यकताका आधारमा उपयुक्त मोडलको प्रयोग गर्न सके साझेदारी विकास सफल हुने आशा गर्न सकिन्छ ।

Source: Nayapatrika

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.